Monday, June 15, 2020

Dread डायरी- प्रारम्भ (Horror सानो कथा)


"स्विट चाइल्ड ओ माईन, उ उ, स्विट लभ अफ माईन"
मोबाईलको रिङ्गटोन बजिरहेको थियो | निन्द्रा खुल्यो | सिरानी मुनिको मोबाईल निकालेर स्क्रिनमा हेरे | रिसिभ गर्न लाग्दा कल काटियो | रमेशको मीसकल रहेछ | उठेर केहिबेर बेडमै बसे | बेडबाट उठेर झ्यालका पर्दा पन्छ्याए | उदाउँदो घाम देखियो | फेरी रिङ्गटोन बज्यो | मोबाईल हेरे स्क्रिनमा रमेशकै नाम थियो |

मैले फोन उठाए "हेलो ! सरी यार उठन लेट भयो |"
"मुजी ! अहिले सम्म उठेको छैनस ?" रमेश फोनमै गर्जियो | फेरी बोल्यो "हामी यहाँ तलाई राइड जान पर्खी रहेका छौ | तँ भने.. जहिलै त्यस्तै ! लेट लतिफ !"
"सरी यार ! हिजो अबेर रात सम्म अफिसको काम गर्नु पर्यो | तिमीहरु जा न, आई विल क्याच यु गाईज लेटर |"
"ल,ल तँ सुट ! हामी गए |"
"कहाँ सुट मुला, उठी सके अब | तिमीहरु जाँदै गर, म आउछु |"
"ओके छ त ! तँ आउंदै गर्लास | हामी जाँदै गर्छु | त्यहि चिया पसलमा भे....|" कुरा पुरा नसुनी मैले कल काटे | तर मैले उसको अन्तीम शब्द "भेट" भनेको हो भनेर बुझीसकेको थिए | घडीले छ बजाई सकेको थियो | एकछिन शरीर तन्काए | एक खिल्ली चुरोट लिएर ट्वाईलेट छिरे | चुरोटको धुँवासंगै प्रेसर बन्यो |

फ्रेस भएर निस्किए | किचेनमा गए चिया बसाले | साइकलको वाटर बोटल पखालेर पानी भरे अनि एक टुक्रा कागती काटेर निचोरेर रस पानीमा मिसाए | चिया पिउंदै साइकीलिङ्ग ड्रेस लगाए |

चिया सकाएर साइकल निकाली हिडे, मोर्निंग राइडमा | बिष्णुदेवी मन्दिर सम्म पुग्दा भान भयो | आज त साँचीकै लेट भएछु | मोर्निंग वाकमा गएका सबै चोभारबाट फर्किंदै छन् | सबैले मलाई तुवाल्ल हेर्दै मुसुमुसु हास्दै जाँदै छन् | सायद मनमनै भन्दै पनि होला "अल्छी, हामी कहाँ पहाड चढेर फर्कीसके तँ भने भर्खर...!" तर तिनीहरुलाई के थाहा, म तिनीहरु भन्दा बडी समय काम गर्छु र कम सुत्छु |

आज म चोभार माथी आदिनाथ मन्दिरसम्म गईन | साइकल चलाउनै सकिन | आँखामा अझै हिजोको निन्द्रा बाकि नै छ | "राम्रोसंग सुत्न पाएको भए पो शरीरमा इनर्जी आउछ त, भयो आज म सिधै मन्जुश्री पार्क जान्छु उनिहरु त्यहिको चिया पसलमै आउने त हो | बरु चाडै पुगेर उल्टो उनीहरुलाई चकित पार्छु | "

म मन्जुश्री पार्क गए | त्यहाँ पुगेर हेरे कोही देखिन | अनि पसल नजिक गएर चिया दिदीलाई सोधे "गुडमोर्निंग दिदी ! खोइ हाम्रो साइकल पार्टीहरु आएनन् र अहिले सम्म ?"
"किन नआउनु भाई ! वहाहरु यहाँ आएर पनि फर्कीसके, बरु तपाईले पिउंदै नपिएको दुइ कप चियाको पैसा पनि तिरेर गए | बस्नुस म तपाइको चिया लिएर आउछु |" यति भनि चिया दिदी मुसुमुसु हास्दै चिया बनाउन व्यस्त हुनुभयो |

मन्जुश्रीको बिशाल मूर्ति बनाउन तरखर गर्दै छन्, यता उती खाल्टो खन्दै छन् | थाहा छैन के-के मात्र बनाउन लाग्दै छन्, चोभार नगरपालिकाले | हेर्दा त ठुलै प्रोजेक्ट जस्तो छ | म कुनाको भिर निरको मुडामा गएर बसे | भिरबाट मुनी देखिने खाल्टो तिर हेर्दै थिए | मैले करिब दुई फिट मुनि एउटा खैरो छालाले बनेको सानो ब्याग जस्तो केहि देखे | नियालेर हेरे | खैरो छालाको ब्याग जस्तो चिजलाई खैरो छालाकै डोरीले बाँधेको छ | तर केहो अझै यकिन गर्न सकिन | मैले अझै नियालेर हेरे | ब्याग जस्तो पनि लागेन |

म त्यहाँ जाने बाटो हेर्न थाले | एउटा अफ्ठेरो बाटो देखे तर जान आट गरिन | पसल नजिक गाडेको बाँसलाई समातेर शरीरलाई तन्काई त्यो छालाको चिजसम्म हात पुर्याए र बल्लतल्ल हातपारे | धुलो तक्तकाएर हेरे त्यो त एउटा पुरानो डायरी रहेछ | हेर्दै एन्तिक जस्तो देखिने, मैले यस्तो डायरी "लस्ट सिटी जेड" फिल्ममा देखेको थिए | जसमा हिरोले आफुले डिस्कभर गरेको नोट्सहरु लेख्ने गर्थियो |

"के छ यसमा ?" आफैलाई प्रश्न गर्दै डायरीमा बाँधेको डोरी फुस्काउन थाले | त्यतिकैमा चिया पनि आयो | चिया त्यहिको सानो टेबल माथि राखेर दिदी जानु भयो | मैले डायरी खोले | सररर पानाहरु पल्टाए | यसमा त कसैको दैनिकी वा घटनाहरु बारे लेखिएको रहेछ |

म चियाको चुस्की लिंदै पढ्न थाले | पहिलो पाना पल्टाए, ठुलो अक्षरले लेखिएको थियो......!!!

ड्रेड डायरी


प्रारम्भ

मृत्यु पछीको जीवन, अहिलेसम्म एक रहस्य बनेको छ | एक यस्तो रहस्य जसलाई बिज्ञानले पनि आज सम्म कुनै किसिमको टिप्पणी दिन कोशिस समेत गरेको छैन | के हुन्छ मृत्यु पछी ? हाम्रो यस पवित्र शरीर खरानीमा त परिवर्तन हुन्छ तर आत्माको स्वरूपमा त्यो हावामा त्यसै कहाँ बिलिन हुन्छ ? आत्माको अस्तीत्व अवस्य हुन्छ | अन्यथा मुक्ती नामक चिजको उत्पत्ति सायद हुँदैन थियो होला |

म यहाँ पोखरामा घुम्न आए | तर पिक सिजनको कारणले गर्दा मलाई कुनै पनि होटेलमा कोठा पाएन | म टोलाउन्दै लेकसाईडमा हिड्दै एउटा बेन्च माथी बसे | निरास थिए | साँझ पनि छिप्पिन्दै जाँदै थियो | बेन्चमा ब्याग राखे र चुरोटको बट्टाबाट एक खिल्ली चुरोट झिकेर ओठमा च्यापे | पाइन्टको गोजीबाट जिप्पो बालि चुरोट सल्काए | एउटा लामो सर्को तानेर "अब कहाँ रात बिताउने ?" सोच्दै थिए | चिन्ता मेरो अनुहारको रेखामा झल्कियो सायद नजिकको ट्याक्सी ड्राइभरले भन्यो "सर तपाईलाई रूम पाएन हो ? अहिले सिजनमा यहाँ यस्तै हुन्छ | बरु, तपाई यहाँबाट दस किलोमिटर मुनी बेगनास तालमा जानुस त्यहाँ तपाईलाई लज डेफिनेतली पाउनेछ | बरु मै पुर्याई दिउकि ?"

ट्याक्सी ड्राइभरको कुरा सुनेर मेरो हर्सको सिमा रहेन | मैले आधी बचेको चुरोटको ठुत्तो त्यहि फ्याकेर "हुन्छ भईहाल्छ नि | जाउ हिडौ ! मलाई त्यहि पुर्याई दिनुस |" भनेर ट्याक्सी भित्र बस्न जाँदा नम्बर प्लेट देखे "ग१ज ६६६" मलाई अलि अनौंठो लाग्यो | म ट्याक्सीमा बसे |  ट्याक्सी स्टार्ट भयो | पार्किंगबाट ट्याक्सी घुमाएर रोडमा ल्यायो |

मैले डाइभरलाई सोधे "ट्याक्सीको नम्बर प्लेटमा चारवटा अंक हुनु पर्ने होइन र दाई?" ट्याक्सी पिच रोडमा दौडीन्दै थियो |
"चारवटै नम्बर हुनु पर्छ भन्ने पनि छैन सर | कसैको दुईवटा मात्र पनि हुन्छ | यो पुरानै नम्बर हो | ट्याक्सीको नयाँ नम्बर लिन पाउंदैन | हामीले नम्बर किन्नु पर्छ |" ट्याक्सी चलाउँदै ड्राइभरले भन्यो |
"अनि यो ६६६ तिन वटा ६ नै किन ?"
"नम्बरको के छ र सर, ६६६ अनि ५५५, जे पाउँछ त्यहि किन्नु पर्छ नत्र अरुले लिन्छ |"
"ए ! " मैले यती मात्र भने | यो तिनवटा ६ नम्बर बारे मैले केहि त सुनेको छु | तर के ?

मैले गुगल गरे "६६६" सर्चबारमा टाइप गरे | गुगलले प्रतिक्रिया दियो, "आधुनिक लोकप्रिय संस्कृतिमा, ६६६ एन्टिक्राईष्ट वा वैकल्पिक रूपमा, शैतानको लागि सबैभन्दा व्यापक मान्यता प्राप्त प्रतीकहरू मध्ये एक हो । यो सङ्ख्या ६६६को उद्देश्य शैतानलाई चलाउनको निम्ती प्रयोग गरिन्छ.....|" पुरा नपढि म हाँसे |
"किन हास्नु भएको र सर |" मेरो हाँसो सुनेर ट्याक्सी ड्राइभरले मिररमा हेर्दै सोध्यो |
"केही होइन, गुगलको कुरा पढेर हाँसेको |" मैले हास्दै भने | आज भोलीको जमानामा पनि के एन्टिक्राईष्ट र के शैतान....! वाहियात |

बेगनासतालको होटेल थर्तिन्थमा कोठा नम्बर एक सुन्य छ मैले पाए | अलि फोहर छ कोठा तर बस्नको निम्ती ठाउ त पाए | म यसैमा खुशी थिए |

आज म पुरै रात सुतिन | कारण मेरो कोठाको बाहिर केहि मान्छेहरु हल्ला गर्दै थिए | आज मेरो यहाँ चार दिन भयो | तर अघिल्लो दुई दिनहरुमा म माथी जे बित्यो | त्यसमा मलाई बिश्वास गर्न मन लागेको छैन | काश, मैले गुगलको कुरा मानेको भए !

त्यस रात, म सुत्न गए | आधी रात पछी "घ्यार्र्र्रररर्रर" आवाज सुने | केहि चिजमा चिथोरेको जस्तो | मलाई लाग्यो मुसाहरु होला | मैले धेरै ध्यान दीईन | तर करिब पन्द्र-बिस सेकेंट सम्म त्यो आवाज लगातार आउंदै गर्यो | मैले त्यो आवाजलाई ध्यानले सुन्न थाले | ध्यान दिएर सुने पछी लाग्यो, त्यो अवाज मेरो नजिकैको टेबलबाट आउन्दै छ | मैले तुरुन्तै नाइट ल्याम्प बाले, लगतै सिसाको गिलास फुटेको आवाज "छ्यांङ्ग" आयो | मैले हेरे, गिलास भुइमा टुक्रा-टुक्रा भइ छरिएको देखे | तर कसरि ?

जहाँसम्म मलाई याद छ | मैले पानी पिएर गिलास टेबलको बीचमा राखेको थिए | लाईट बाल्दा मेरो हात पनि गिलास या टेबलमा ठोकेको थिएन | आखीर, यो भयो त भयो कसरी ?
कोहि मलाई तान्दै छ | सायद यो त्यहिँ आवा....."

"ल ! खाली छ त पाना ! अरे यार त्यस पछि के भयो ? एउटा अन्तिम लाईन लेखेको भए तेरो के जान थियो ? उफ्फ़ ! अब कसरी थाहा पाउने ?"

मैले त्यसपछीको अरु दुई पानाहरु पल्टाएर हेरे, पढे "अज्जु साइकल चलाएर आफ्नो डेस्टिनेसन तर्फ जाँदै थियो | जाँदा जाँदै रा.....!!! " यो त होइन | यो अर्को "ईभेंट स्टोरी" जस्तो छ | अर्को दुई-चार पाना पल्ताउन्दै हेर्दै थिए  |

एउटा पत्य्याएको कागजको टुक्रा भुईमा खस्यो | कागज टिप्न निहुरेको मात्र के थिए |
"स्विट चाइल्ड ओ माईन, उ उ, स्विट लभ अफ माईन" मेरो मोबाईलको रिङ्गटोन बज्यो |
कागज टिपेर मोबाईल हेरे, स्क्रिनमा "कमिना जल्लाद" नाम थियो | मेरो बोस |
"हेलो ! गुडमोर्निंग सर |"
"गुडमोर्निंग विलीयम जी, उठ्नु भो ? सरी दिस्तर्भ गरे |"
"नट एट अल सर ! म त मोर्निंग राइडमा आएको छु |"
"ओ हो कति इनर्जी तपाईको, वेल कहाँ हुनुहुन्छ ?"
"म यहि चोभार सम्म आएको सर"
"ओके ! मैले मेल पाए तपाईको | राती दुइ तिसमा पठाउनु भएको रहेछ | डिजाईन ठिक छ तर अली कन्टेन चेन्ज गर्नु पर्ने भयो | तपाई कति बजेसम्म घर पुग्नु हुन्छ ?"
"कति बजे सम्म त पक्का भन्न सक्दिन सर | सकेसम्म घर चाडै पुग्ने कोशिस गर्छु | बरु कति बजे सम्म हजुरलाई फाईल चाहिने.... |"
"अर्जेन्ट नभएको भए तपाईलाई कर गर्दिन थिए | हिजो राती पनि २ बजेसम्म काम गर्नु भएको रहेछ | बरु कन्टेन्ट चेन्ज गरेर फाईल पठाउनुस | कन्टेन्ट मैले मेलमै रिप्लाई गरेको छु | अनी तपाई अफिस बाह्रबजे सम्म आउँदा हुन्छ |"
"हस सर ! थ्यांक्यु" भनेर कल काटे |

कागजको टुक्रा डायरीको पानाभित्र च्यापेर ब्याग भित्र राखे |
"ल दिदी गए है, भोली भेटौला" साइकल घुमाउन्दै भने |
"लौ बाबुको अर्को चिया दिनै बाकि छ त |"
"त्यो म भोली फच्चे गर्छु दिदी | आज घर चाडै फर्किने अलि काम पर्यो |" भनेर म साइकलको पेडल चाल्दै घर फर्किए | बाटो भरि त्यस अपुरो कथाले पिरोली रहयो | "त्यस पछी के भयो? त्यो आधाअधुरो वाक्यको के अर्थ रैछ?" दिमागमा प्रश्नहरुले कोट्याई रहे |
क्रमशः

-विलीयम न्युरोज ©  २०७७ बि.सं.

No comments:

Post a Comment