Thursday, May 7, 2020

मिस् यु (Horror सानो कथा) Episode -3


मिस यु

~ जता हेर्छु तिमी मात्रै कस्तो कर्म यो मेरो? ~



चियर्सSSSSSS”
बिनय,आकास र प्रविन धेरै वर्ष पछि उनीहरुको भेट भयो | कलेज सकेपछी उनीहरु पहिलो पल्ट जम्घट गर्दै थिए | कलेजका इ साथीहरुलाई पार्टी त गर्नै थियो | आखिर उनीहरु यत्रो वर्ष पछी रियुनाइट भएका थिए | बिनयको खाली घरको छतमै सारा खाने पिउने समानहरु लिएर बस्यो |

“यार ! बिकास कहाँ छ आज भोलि ? फेसबुकमा कत्ति खोजे त्यसलाई भेट्दै भेटिंदैन त |” बिनयले विस्कीको चुस्की लगाउंदै सोध्यो |
“खोई यार ! मलाई पनि खासै थाहा छैन |” ज़िप्पो लाइटरले चुरोट सल्काउदै प्रविनले भन्यो |
“सिंगर बन्ने खुब शोख थियो त्यसलाई है |” भन्दै आकासले आफ्नो मोबाइलमा गीत चयन गरिबजायो |
आकाशैको, होओ-ओ
आकाशैको, थैलोमैलो

बदलुको घेरो, बदलुको घेरो
जता हेर्छु तिमी मात्रै कस्तो कर्म यो मेरो? (ल है!)
कस्तो कर्म यो मेरो?...” कर्मा ब्याण्डको “हुक्का” गित वातावरणमा घन्किन थाल्यो | र साथै “ल है!” भन्दै उनीहरुले विस्कीको गिलास हावामा हलाउन्दै लय मिलाउन थाल्यो |

“यो गित त विकासले सिनियरको फेर्वेलमा (कभर) गएको थियो नि होइन र?” बिनयले सोध्यो |
“हो नि...! एकपल्ट देखेको थिए मैले उसलाई, काठमाडौँ मलमा बिहेको सपिङ्ग गर्दै थियो|” चिकेनको एक चोक्टा चुडाल्दै आकासले बोल्यो |
“हो र ? कोसंग बिहे गर्न लागेको थियो त्यसले?” आँखा चम्काउदै बिनयले फेरी सोध्यो |
“अरु कोसंग हुनु र ? त्यहि सुप्रियासंग होला? कलेजमा हुँदा उनीहरुलाई प्रेमरोगले खुब च्यापेका थिए |” आफ्नो गिलासमा विस्कीको एक पेग थप्दै प्रविनले भन्यो |
“सुप्रियाको पछी त !... तँ पनि परेको थिस क्यारे |” बिनयले प्रविनको मुख हेर्दै भन्यो |
“ह्या ! त्यो त्यसै बिकासको बिल्ला गर्न उ यसले हल्ला फैलाएको |” प्रविनले आकासलाइ चुरोट च्यापेको औला तेर्साउन्दै भन्यो | त्यस पछी छतमा हाँसोको हल्ला गुन्जियो |

वर्षौ देखीको लुकेका रहस्य,घटना, कथाहरु, एक-एक गरि बाहिर आउंदै थियो | कुरैकुरामा त्यहिँ घरको कुरा पनि निस्कियो जुन घरको छतमा उनिहरु रियुनाइट पार्टी गर्दै थिए | आकास र प्रविन पटक-पटक त्यो दिनको घटनाबारे कुरा दोहराई-तेह्राइ सोधी रहेकाथिए | जुन घटना पछी कलेजमा बिनय शान्त बस्ने भएको थियो | बिनय केही छिन चुप बस्यो |

केहि पलको चुपप्पी पछी विस्कीको दोस्रो गिलास रित्याएर बिनय बोल्यो “त्यस दिन म कलेजबाट अलि चाडै घर फर्केको थिए | तिमीहरु दुईजना तोर्नामेंट खेल्न धरान गएका थियौ | त्यस दिन मेरो जीउ पनि सन्चो थिएन | मैले सोचे घर गएर आराम गर्छु | घर आएर मैले देखे, घरको चारै तिर भिड लागेको थियो | यहि घरको मुनी तल्लामा शर्मा अंकल, उनकी श्रीमती र उनकी छोरी सीवानी बस्थीइन | मैले घरको गेट बाहिरबाटै शर्मा आन्टीको रुवाई सुने | त्यो रुवाई म कहिलै भुल्न सक्दिन | मेरी आमा र टोल छिमेकीहरु उनलाई चुप गराउन कोशिश गर्दै थिईन र शर्मा अंकल टाउकोमा हात राखी एउटा कुनामा बस्नु भएको थियो | कोठा भित्र हेरे पंखामा आन्टीकै सारीमा बाँधीएकी सीवानीको लास झुण्डी रहेकोथियो | त्यो दृश्य म कहिलै भुल्न सक्दिन | सीवानीको आँखा बाहिर निस्कीएको थियो | हामी मध्ये कसैले पनि सोचेकै थिएनौ, सीवानीले कुनै दिन यस्तो गर्छिन भनेर | कोठामा एउटा सुइसाइड् नोट पनि थियो | जसबाट थाहा भयो की उसलाई कुनै केटासंग प्रेम थियो | त्यो केटाको आफ्नो कलेजको एउटी क्लासमेटसंग अफेर भएको कारण सहन नसकी उसले आफ्नो ज्यान लियो | त्यो सुइसाइड् नोटको कुरा पढ्दा-पढ्दै अंकल,आन्टीले पटक-पटक आफुलाई नै धिक्कार्नु भयो | पुलिसले पनि सारीलाइ नखोली, बीचबाटै काटेर उसको लास झिक्यो | पुलिसहरुले लासलाई स्ट्रेचरमा बाँधेर लगिरहेको थियो | स्ट्रेचर ढोकामा ठोकिन लागेको थियो | मैले सीवानीको लासको टाउकोमा हात राखेर उसको टाउको ढोकामा ठोकिनबाट बचाए | पुलिसहरुले उसको लासलाइ भ्यानमा राख्यो | अनि घटनाक्रमको हरेक विवरणहरु सहित फोटोहरु खिच्न थाल्यो | थाहा छैन किन ? त्यति बेला मलाई के भएको थियो ? म भ्यान नजिक गए | जस्तो लाग्यो कुनै अदृश्य शक्तीले मलाइ तान्दै छ | म लास नजिक पुग्ने बित्तिकै एक्कासी वातावरण सबै शान्त भयो | रुवाई, हल्लाहरु केहि पनि सुनिन मैले | अनि सीवानी जो लास भइसकेकी थिईन | मैले...! मात्र मैले उसको स्वर सुने “तिमीले मेरो टाउको ढोकामा ठोकिनुबाट बचायौ | तिमीले मलाई मद्दत गर्यौ | अब म तिम्रो मद्दत गर्छु |...सधैका लागी |”

म त त्यो दश सेकेन्ड मै चिसिएर गए | साँस फेर्न गाह्रो भयो मलाई | आँखा धमिलिएर गयो | जब मलाइ होस् आयो | म आफ्नो बेडमा पल्टी रहेकोथिए | अनि मेरी आमा रुँदै थिईन | श्राद्ध भएको केहि दिन पछी शर्मा अंकल र आन्टी यो घरलाई सधैको लागी छोडेर जानु भयो | अनि हामी पनि अर्को घरमा शिफ्त भयौ | यो घर धेरै पटक भाडामा दिन कोशिस गरियो | हेर्न धेरै आए-गए | तर यो घरमा आज सम्म कोही टिक्न सकेन | आज पनि त्यो सारीको टुक्रा त्यहि झुन्डिरहेको छ |”

बिनयले प्रविन र आकासलाई यो सब भन्दै थियो | आकासले हास्दै भन्यो “हा..हा..हा....! भाई ! तिमी यत्ति राम्रो कथा सुनाउछौ | फिल्महरुमा ट्राइ किन गर्दैनौ ? तेरो कथा ब्लक बस्टर हिट हुन्छ यार |”

बिनयलाई अलि नराम्रो लाग्यो | “ओके त्यसो भए तलाई थाहै छ मेरो पढाई | पहिला कस्तो थियो र त्यस पछीको इग्जाममा म कलेज टपर कसरी भए ?” बिनयले उनीहरुलाई एकोहोरो हेरेर भन्यो |
प्रविनले मासुको फिल्लासंगै चिउरा चपाउदै सोध्यो “कसरी नी ?”
आकासको हाँसो फेरी गुन्जियो “हा..हा..हा....! भूतले सिकायो यसलाई हाहाहा...दाई पुग्यो अब, कती हासाउछस यार |”

यस पालि बिनयले रिस थाम्नै सकेन | उसले रिसाउदै भन्यो “तलाई बिश्वास छैन ? हा !? तलाई मेरो बिश्वास लाग्दै होइन ? हिड म तलाई देखाउँछु | त्यो सिंलिंगको हुकमा झुन्डेको सारीको टुक्रा |”

बिनय उनिहरु दुवैलाई अँध्यारोमा मोबाइलको टर्चको प्रकाश देखाउंदै मुनी कोठामा लिएर गयो | सुनसान खाली घरमा उनीहरुको पध्चापको आवाज भर्याङ्ग भरि सुनियो | पुरानो वर्षौ देखी बन्द रहेको ढोका खोलियो | वर्षौ देखी खिया लागेको ढोकाको कप्जा घर्सिंदा “कुईईईई-ढ्याक” आवाजले घरको वातावरणमा थप त्रसित बनायो | कोठा भित्र गएर बिनयले मोबाइलको प्रकाशमा माथी सिलिङ्गमै नहेरी खुशीले भन्यो “त्यहाँ हेर, देखेयौ की देखेनौ ? धुलोले भरेको त्यो सारीको टुक्रा |”
आकास र प्रविनको खुलेको मुख देखेर बिनय आफै फर्कियो | सिलिङ्गमा हेर्यो त्यहाँ कुनै सारीको टुक्रा बाँधेको थिएन |

बिनयले उनीहरु दुवैलाई भन्यो “एक मिनेट रोक ! म फियुज रुममा गएर लाइट्स अन गरेर आउछु | यहि छ म तिमीहरुलाइ देखाउँछु |” यति भनि बिनय कोठाबाट बाहिर निस्कियो | फियुज रुममा गएर उसले मेन स्विच अन गर्यो | पुरा घरमा एक-एक गरि सारा बत्ति बल्यो | फर्केर दौडिदै त्यहि कोठामा आयो | त्यो सारीको टुक्रा त्यहिँ जस्तोको त्यस्तै झुण्डीएको देखेर बिनय एकदमै खुशीले उफ्रियो | तर आकास र प्रविन त्यहाँ थिएन | उसले कोठामा यताउटा हेर्यो | आकास र प्रविनलाई बिनयले कहिँ देखेन | बाहिर निस्केर बिनय चिच्यायो “अरे कहाँ मर्यो दुवै जना ? आकास?... ...प्रविन...?” 
उ फर्केर त्यहि कोठामा पस्दै थियो | मिटर रुमबाट एउटा आवाज सुन्यो “कुईईई खत-खत”
“हा..हा..हा.. ! मेरो घरमा मैसंग मजाक? अरे बच्चा बेलाको यो गेम ठुलो भइसके पछी राम्रो लाग्दैन |” बोल्दा-बोल्दै बिनय मिटर रुमको तर्फ जाँदै थियो | जोडले मेन स्विच अफ भएको आवाज आयो “ट्याक्क” अनि सारा बत्ती फेरी निभ्यो | दुवैको नाम “आकास...?, प्रविन...?” पटक-पटक लिंदै बिनय मिटर रूममा गयो |

त्यहा कोई थिएन | बिनयले यता-उति हेर्यो | रित्तो कोठामा कोही थिएन | उसले देख्छ कसलाई ? बिनयले फेरी लाईट अन गर्यो |  अनि त्यहि कोठामा फेरी जाँदै थियो | भर्याङ्गमा चड्दै गर्दा त्यो कोठाबाट केहि चिज घिसार्दै गरेको आवाज आउदै गरेको सुन्यो | आवाज सुन्ने बित्तिकै बिनय दौडेर कोठामा गयो | आकास र प्रविन नै होला यति त पक्का थियो | तर उसको यो सोच गलत ठहरियो | उ त्यो कोठा भित्र पस्दै गर्दा देख्यो एउटा कुर्सी जुन कुनामा राखेको थियो | त्यो कुर्सी सिलिंगको पंखाको हुकमा बाँधेको सारीको टुक्राको ठिक मुनी सम्म कोही घिसार्दै लिएर गएको थियो | धुलो जमेको जमिनमा कुर्सी घिसारेको चिन्ह बनेको थियो | र कुर्सीको माथी दुई खुट्टाको डाम पनि बसेको थियो | केहि गडबड भइरहेको थियो, उसले बुझ्यो | तुरुन्त फर्केर छत् तीर दौडियो | छतमा पुग्दा हेर्यो प्रविन र आकास त्यहि बसेर विस्की पिउंदै कुरा गर्दै थियो |

बिनय एकदम रिसले बोल्यो “म तिमीहरुलाइ मुनी खोज्दै छु | तिमीहरु भने मलाई त्यहि छोडेर यहाँ गफ गर्दैछौ?” आकास र प्रविनले एक-अर्काको मुख हेर्यो | फेरी दुवैले संगै बिनयलाइ हेर्यो |

अनि आकासले भन्यो “तँ पागल त भईनस? हामी त यहिँ अघि देखी बसेका छौ | तै अचानक मुनी गइस् | हामीलाई लाग्यो तँ सायद बाथरुम गएको होला | तँ यदि माथी नआएको भए हामी मुनी नै जान्थियौ तलाई खोज्न |” आकासको कुरा सुनेर बिनयको पारा चड्यो |
उसले रिसले भन्यो “साले तिमीहरुलाइ मजाक लाग्दै छ ? आउ म देखाउछु तिमीहरुलाई त्यो कोठाको सत्य | मसंग हिड |”

यति भनि उनीहरु दुवैलाई लिएर मुनीकोठामा गयो | छतबाट हिड्दै अनि करिडोरमा पुग्यो | सुनसान खाली घरमा उनीहरुको पध्चापको मात्र आवाज गुन्जियो | कोठामा पुगेर उसले ढोका खोल्यो | ढोका खोल्दा फेरी अघिकै जस्तो कप्जा घर्सिंदा “कुईईईई-ढ्याक” आवाज आयो |

“त्यहाँ हेर त्यो सारीको टुक्रा जसमा झुन्डिएर सीवानीले आफ्नो ज्यान दिएकी थिईन |” यति भनेर बिनय पछाडी फर्कियो | उसको पछाडी त्यहाँ कोही थिएन | छक्क पर्दै फेरी अगाडी फर्कियो | कोठामा कुर्सी कुनामै थियो र त्यहाँ कुनै सारीको टुक्रा झुन्डिएको थिएन | अनि उसको पछाडी आकास र प्रविन पनि थिएन | छत् माथी हेर्यो | ध्यान दिएर सुन्यो | त्यहाँबाट पनि केही आवाज आइरहेको थिएन | चारै तिर खुब अँध्यारो र सुनसान थियो | बिनय छतबाट आउदै गरेको हल्का प्रकासको सहाराले छत् तिर जान दौडियो | दौडीदा-दैडीन्दै छतको ढोकामा पुगेको मात्र के थियो | ढोका जोडले उसको मुखैमा बन्द भयो | बिनय छतको ढोका आतिन्दै खटखटायो | ढोकाको ह्याँदिल समाएर लक् खोल्ने प्रयास गर्दै थियो तर केहि फाइदा भएन | यहि पागलपनको बीच उसले केहि आवाज सुन्यो |

ध्यान दिएर सुन्यो “जता हेर्छु तिमी मात्रै कस्तो कर्म यो मेरो? कस्तो कर्म यो मेरो?” स्त्रीको सुरीलो स्वर अँध्यारो वातावरणमा गुन्जियो | उसको ध्यान टुट्यो | फेरी ध्यान दिएर सुन्यो’ यसपाली “बिनय-बिनय” भन्दै आकास र प्रविनले उसलाई पुर्कार्दै गरेको सुनियो | बिनय त्यहाँबाट आवाज आईरहेको दिशातीर दौडियो | आई रहेको आवाज पछ्याउंदै जाँदा बिनय फेरी त्यहि कोठामा पुग्यो | जहाँ सीवानीले आत्माहत्या गरेकी थिईन | त्यहाँ गएर उसले देख्यो कुर्सी फेरी त्यहिँ सिकिंगको मुनी थियो | सिलिंगको हुकमा सारीको टुक्रा देख्यो | कुर्सी माथी कसैको दुई खुट्टाको डाम थियो | अनि कोठाको भित्ताहरुमा लेखेको थियो “मिस् यु-मिस् यु-मिस् यु” एक्कासी एउटा आवाज पटक-पटक दाँयाबाट बाँया कानमा गुन्जियो “मैले भनेकी थिए, मेरो बारेमा कसैलाई नभन्नु, मैले...भनेकीsss थिए, मेरो बारेमा कसैssssलाई नभन्नु..नुनुsss तर...!” स्वर मसिनो हुँदै ...“जता हेर्छु तिमी मात्रै कस्तो कर्म यो मेरो? कस्तो कर्म यो मेरो” रोकियो |

अचानक, बिनयको ठिक पछाडी कोठाको ढोका जोडले बन्द भयो “ढ्याम्म” | बिनयसंग अब चाहेर पनि भाग्नलाई कुनै बाटो थिएन | उ चारैतिर दौडियो | झ्याल खोल्न खोज्यो, ढोका खोल्न खोज्यो तर खुलेन | बिनय डरले चिच्यायो “मलाई बचाउ ! ह्याईई ईई ! आकास,...प्रविन ! मलाई बचाउउउउ |”

बिनयको चिच्चियाहाट सुनेर आकास र प्रविनले ढोका खोल्न खोज्यो | झ्याल खोल्न खोज्यो तर खुलेन अनि कोठाको भेन्टिलेटरको झ्यालबाट आकास र प्रविनले हेर्यो, बिनय त्यहि सिंलिंगको हुकमा एउटा सारी बाँडीरहेको अनि हास्दा-हास्दै आफुसंगै कुरा गर्दै गरेको देख्यो “उफ्फ़ ! तिमी पनि पागल नै हौ | आउंदै छु बाबा पाँच मिनेट रोकन | एउटा हेल्प त गर्दैनौ मेरो यो बाँड्नलाई ! राम्रोसंग टाइट बाँधे पो चाडै तिमी भा’ ठाउमा आउनसक्छु |”

यो हेर्ने बित्तकै प्रविन र आकास दुवै अतालिएर जोड-जोडले ढोका घच्घच्याउन थाल्यो | “बिनय यो के गर्दै छौ | ढोका खोल ! खोल ढोका !”

ढोकामा “धम-धम, ध्याम-ध्याम”को आवाजले बिनय निन्द्राबाट बिउझेको जस्तो गरी होसमा आयो | आँखा मिच्दै यताउटा हेर्न थाल्यो | कोठाको सिचुएसन ज्ञात हुने बित्तिकै घुँडाले टेकेर रुन कराउन थाल्यो |

रुँदै उसले भन्यो “मलाइ थाहा थिएन सीवानी तिम्रो बारेमा, मलाइ थाहा थिएन तिम्रो मनमा के थियो | मैले त सधै तिमीलाई आफ्नो साथी सम्झंथिए | तिमीले नै मलाई गलत सम्झेकी थियौ | मेरो गलफ्रेन्ड थियो जो अहिले मेरी श्रीमती हुन् | मेरो एउटी छोरी छिन | उनीहरुको के हुन्छ ? यदि मलाई केहि भयो भने ! मलाई माफ गरि देउ सीवानी ! मलाई केहि थाहा थिएन तिम्रो फीलिङ्गसको बारेमा, केहि थाहा थिएनsss |”

सीवानी बिनयसंग प्रेम गर्थीन | तर आफ्नो मनको कुरा कहिलै भन्न सकेकी थिईनन् | बिनयले सधै उसलाई एउटी राम्रो साथीको रुपमै हेर्थियो | बिनयको कलेजमा सिनियर फेर्वेल पार्टी हुँदा सीवानी पनि गएकी थिइन् विकासले त्यस दिन कर्मा ब्याण्डको “हुक्का” कभर गाउँदै गर्दा
कुरो छिनो फानो गर्न, घर आऊआऊ लाग्छ”
“ल है!”
“जता हेर्छु तिमी मात्रै कस्तो कर्म यो मेरो?
“ल है!मा तालमा ताल मिलाएर खुब नाचेकी थिईन सीवानी बिनयसंग | यो देखेर बिनयको क्लासमेट अस्मिता जेलस भइकी थिईन |

सीवानीले आफ्नो पढाई-लेखाई, डान्स, संगीत गरी आफ्नो सारा ट्यालेन्टमा धेरै राम्रो गरिन | तर जब प्रेममा हारिन जीउन सकिनन् | अनि उसले सुइसाइड् गरिन |

भन्छन प्रेममा मान्छेहरु यत्ति मतलबी हुन्छन | उसले यो पनि भुल्दै जानछ, उसको प्रेमले नै उसको प्रेमीलाई सबै भन्दा बडी चोट लगाउने गर्छ |

बिनयको दिमागी हातल आज ठिक छैन | जुन घरमा कोही खुट्टा पनि राख्न सक्दैन थियो | आज उ त्यहाँ एक्लै बस्छ | पागल झैँ एक्लै गुनगुनाउँछ “जता हेर्छु तिमी मात्रै कस्तो कर्म यो मेरो? कस्तो कर्म यो मेरो?
अनि कोठाभरीको भित्तामा “मिस् यु- मिस् यु- मिस् यु” लेखाई देखिन थाल्छ |

बिनय कहिँ बाहिर निस्कदैन | त्यो भुताहा घरमा उ एक्लै बस्छ | देख्नेले भन्छन हरेक रात त्यो घरको कोठाको झ्यालनीर दुई आकृती बल डान्स गर्छन | अनि वातावरणमा अनयासै संगीत गुन्जिन थाल्छ |

माथ्ला घरको कुर्सी, माथ्ला घरको कुर्सी
जोवन खेर जान्छ घरी यता र उती (ल है!)
जता हेर्छु तिमी मात्रै कस्तो कर्म यो मेरो? कस्तो कर्म यो मेरो?”

समाप्त
-विलियम न्युरोज © २०७७ बि.सं.


No comments:

Post a Comment