Sunday, March 12, 2017

वर्षाको एक दिन (Short Story)




फाल्गुन महिनाको अन्तिम साता, होलि पनि आउनै लागेको जानकारी पत्रिकामा छापिएको बिभिन्न होलीको कार्यक्रमबारे बियर र रक्शीको होलि बिशेष बिज्ञापनहरुले पत्रिका मार्फत जानकारी गराई रहेका थिए | बिहान देखिनै आकाश अलि फुस्रो छ, खै किन हो ? | सायद मेरो हाल देखेरै हो कि वा ? दुई दिन भैसकेको थियो एउटा कम्पनीको लागी कन्सेप्ट बनाउनु पर्ने आज सम्म पनि कन्सेप्ट फुरेकै छैन | के गर्ने?, कसो गर्ने?, के बनाउने?, भन्दा भन्दै दुई दिन बितिसकेको थियो | एउटा स्लोगन मात्र दिमागमा फुरेको भए! अरु डिजाइन गर्दैगर्नु हुन्थियो तर जत्ति गर्दा पनि आउदैन, अरु डिजाइनर भाईहरु पनि मेरै थालनीको प्रतीक्षामा छन | होलि भित्र सम्म मा एउटा भए पनि कन्सेप्ट दिनुपर्ने दुइदिन बितिसक्दा पनि एउटा स्लोगन धरी दिमागमा नफुरेकोले मन अलि विखण्डित भैरहेकोछ | यो क्रिअतिभ भन्ने कुरा पनि खोजेको बेला, चाहिएको बेला, भनेको बेला आउदै आउदैन, कस्तो गाह्रो त्यसमाथि म अफिस ढिला पुग्छु भनेर हाकिमले पनि गर्नु गरेकोछ | "तिमी लेट आउन थालेर अरु स्टाफहरु पनि लेट आउन थाल्यो, उनीहरुलाइ कराउ !, तिमीलाई केहि नभनि उनीहरुलाई मात्र कराएको जस्तो हुन्छ |" अलि नरम भएरै मलाइ सम्झाएका थिए हाकिम सापले | भन्नु त ठिकै भनेका हुन् तर मीतिंगमा कालो सुचीमा हाली हाले बुढाले | लेट अफिस पुग्नु मेरो रहर होइन बाध्यता हो, के गर्नु आफ्नो बसाइछ कीर्तिपुरमा , दुइ-तीनता चोकको जाममा परेपछि टाइममा पुग्नु भनेको भात संग भटमास खाए जस्तै हो | अलि चाडै निस्किउ भातै नखाईकन किस्कनु पर्छ | फेरी अरु स्टाफहरुलाई के को मतलब? मेरै देखासिकी गर्नु पर्ने? मेरो राम्रो बानिहरु पनि होलान, जस्तै क्रियटिभ सोच, त्यो नक्कल गरे पनि त हुने नि ! कमसेकम मलाइ त अलि हलुङ्गो हुन्थियो | दुइदिन देखि कसैले एउटा स्लोगन समेत बनाउन सकेको छैन अझै मेरै सुविधा खोस्नु पर्ने ? डाम्नाहरु | सायद त्यसैले होला आज मेरो मनको भाव बुझेर आकाश अलि फुस्रो छ |
म अफिस जानलाई तैयार भए | मेरो पुरानो भटभटे निकाले स्टार्ट गरे हिडे आफ्नो कर्मथलो तिर | टि यु गेट सम्म के पुगेको थिए, मेरो प्यान्टको खल्तीमा निस्सासिएर बसेको मोबाइल फोन पनि थर्किन थाल्यो | म फोनलाई वास्तै नगरी हुइके , उठाउन ढिला हुँदैमा बितिहालने पनि के छ र मेरा लागि ? तर अफिसमा लेट पुगियो भने हाकिमले बिताई हाल्छ | त्यसैले आज अलि चाडै पुगेर सबैलाइ अचम्म पार्ने योजना छ | बल्खुको जाममा बस्दै थिए फेरी फोन थर्किन थाल्यो "थररथरर" तर उताबाट फोन गर्ने मानिस साह्रै धैर्यवान रहेछ, एकपटक पुरा घन्टी गएर नउठाएपछि फेरी फोन गर्न थाल्यो | म आफुले अरुलाई फोन गर्दा चार धन्तीभन्दा बढी कहिलै कुर्दीन | त्यसैले पुरापुरा घन्ति जाउन्जेल कुरिरहने र तारन्तार फोन गरिरहन सक्ने मान्छेहरुको असिम धैर्य देख्दा मलाई अचम्म पनि लाग्छ, र झोक पनि चल्छ | जाम पनि उत्ति खेरै खुल्यो मैले भटभटेको ऐनामा पछाडी पुलुक्क हेरे अनि साइडलाइट बाल्दै त्यसलाई छेउ लगाए | खल्तीबाट फोन निकाल्दा निकाल्दै फोन काटियो | हेरे, नचिनेको नम्बर थियो | मलाइ दोमन भयो | साधारणतया म नचिनेको नम्बर उठाउन्न | "को रैछ यो? " तेही नम्बरमा कल ब्याक गर्ने आँट्या थिए "ह्या अफिस मै गएर गर्छु " सोचेर मैले फोन फेरी खल्तीमा हाले |
आकाश अचानक अघिको भन्दा कालोनिलो भएर ठुस्स पर्न थाल्यो | मैले आकाशतिर हेरे | पारि क्षितिजमा मुसलधारे वर्षा हुन थालेको लक्षेण देखियो | मैले मोटरसाइकलको कान निमोठे र त्यसलाई वेगमा अगाडी दौडाउन थाले | अब अगाडिबाट आएर मेरो अनुहारमा ठोक्किदै जाने हावा केहि छिनआघिको भन्दा चिसो हुन् थालिसकेको थियो | रेनकोट बोकेर हिड्ने बानि छैन | बिहान घरबाट निस्कदा मेरी श्रीमती सरुले त सम्झाएकी थि तर "पानीको यत्रो हिम्मत निरजलाई भिजाउने ?" भनेर जिस्कियर निस्किएको थिए | त्यसैले म पानीले भेट्टाउनु अघि आफिसमा छिर्न चाहन्थे | मेरै जस्तो मनसाय भएकाहरु पनि तिब्र गतिमा हुइकिन थालिसकेको थिए |
एउटा सानो पानीको थोपाले गालामा चुस्स बिझायो | "ला खत्तम, पानीले त भेट्टाउने नै भयो कि क्या हो !" मैले अझै बढी गति बढाए | अर्को एउटा थोपाले घोच्न भ्यायो | मोबाइल फोन फेरी थर्किन थाल्यो | अब पानीका थोपाहरु छिटोछिटो खस्न थाले | सुक्खा सडकमा पानीका थोपाहरुले बुट्टा बनाउन थाले | सियोको टुप्पो जत्रा थोपाहरुले पिचमा कुनै चित्र बनाउन थालेजस्तो देखियो | घामले तातेको सडकको पिचमा पहिलो केहि थोपा खस्दा त्यहीबाट मिहिन वाफ उठ्न थाले | छेउको उष्ण माटोमा पानीले चुमेर उठेको मिठो वाफ मेरो नाकको पारामा ठोक्किन आइपुग्यो | मलाइ माटोको त्यो वासना साह्रै मिठो लाग्छ | लामो-लामो सास फेरेर मैले त्यो वासनालाई आफ्नो फोक्सोसम्म पुर्याए | सियोको टुप्पोबाट अब पानीमा बुट्टाहरु बिस्तारै सुको र मोहर बन्दै अब त डबल ढ्याक जत्रो हुन् थाले |
मैले ओत लाग्ने ठाउको खोजीमा आँखा दौडाए | अलि पर एउटा पसलको सटर छेउ देखेर गति कम गरे | म त्यता जान थाल्दा पनि फोन एकतमासले थर्किन छोडेको थिएन | कस्तो मान्छे होला ? यत्रो घन्टीमा पनि नउठेपछि त छोडिदिनु नि | म सटरको छेउमा पुगेर हतारहतार मोटरसाइकलबाट ओर्लिए अनि पानी अचानक मुसलधारे भएर बर्सिन थाल्यो | एकैछिन अबेर भएकोभए त निथ्रुक्कै पो भिज्ने रहेछु | "ला खत्तम ! आज पनि अफिस पुग्न ढिला हुने भयो | हाकिमले मार्ने भयो आज पनि ! "
हेर्दा हेर्दै अरु केहि मोटरसाइकलवाला पनि म भएकै ठाउमा खादिन आए | कोहि हतारहतार झोलाबाट रेनकोट झिकेर लगाउंदै थिए | कोहि भने पानीमा मस्तसँग भिज्दै गइरहेको थिए | एउटा मोटरसाइकल ठोक्किएला जस्तो गर्दै आएर घ्याच्च रोकियो र त्यसबात एक जोडी ओर्लेर सटरमा ओत लागे | केटीले लगाएको सेतो टिसर्ट भिजेर च्याप्प उसको शरीरमा टाँसीएको थियो | बेइमानी पानीले उसको अलि सानो आकारको निलो रङ्गको भित्री परिधान, त्यसको पातलो डोरी र शरीरको गोरो त्वोचालाई झन्डै पारदर्शी बनाइदिएको थियो |
ओतालुमध्ये केहि लोभी आँखाहरु लाजै नमानी क्वारक्वार्ती त्यसको रसस्वादन गर्न थाले | त्यो थाहा पाएर केटाले आफ्नो ज्याकेट खोलेर केटीलाई लगाइदियो अनि ऊ हान्ने राँगो जसरि ति मानिसहरुलाई हेर्न थाल्यो | ति भद्रभलादमीहरु उससंग आँखा जुध्नासाथ् केहि थाहा नपाए जसरि सोझो अनुहार लगाएर पालैपालो अर्कोतिर हेर्न थाले |
मेरो फोन भने एकै छिका लागि चुप लाग्दै अझ एकनासले लगातार थर्किरहेको थियो | मैले पहिले अर्को खल्तीबाट रुमाल निकालेर आफ्नो भिजेका हात पुछे अनि खल्तीबाट फोन निकाल्दासम्म त्यो फेरी मौन भैसकेको थियो | मुखबाट निस्कन लागेको एउटा शब्दलाइ मैले बडो गाह्रोसंग रोके | होस् , उसकी आमाको यसमा के दोष छ र ? जस्तै धैर्यवानको पनि त एउटा सिमा हुन्छ एउटा | मैले फोन हेरे दुईवटा  नचिनेको फरक-फरक नम्बर रैछ, मिसकलको सुचीमा |
आफुले सेभ गर्न बिर्सेको कुनै परिचित मान्छेको नम्बर त हैन भनेर सम्झिने प्रयास गर्दै थिए | तर सकिन किन भने नम्बर र नाम मलाई याद्नै हुँदैन | मलाइ मनमा कौतुहल हुन् थाल्यो | मैले फोन गर्न खोजे तर नेपाल टेलिकमको दिदीले फोनको बाइलेंस सकेको जानकारीका साथ् मेरो कौतुहल त्यहि सेलाएर गयो | मैले फोन काटिदिए र खल्तीमा घुसारे अनि अगाडी सडकमा मुसलधारे वर्षा नियाल्न थाले | कहिँ यहि वर्षा बाटै केहि क्रियटिभ आइडिया निस्की हाल्छ कि ?
मलाई पानी परेको हेर्न एकदमै रमाइलो लाग्छ | अफिसमा फेर्ने लुगा हुँदोहो त म भिजेरै पनि जान्थिए मलाइ पानीमा भिजन असाध्यै मन पर्छ | सडकमा अब मोटरसाइकल सवारहरु छैनन् नै भने हुन्थियो | फाट्टफुट्ट कोहि वर्सादी ओधेकाहरु फर्फराउदै गएका देखिन्थे भने कोहि बहादुर निथ्रुक्क भिजेर पनि हिकिरहेका थिए |
म ओत लागेको ठाउ अगाडी सडकमा खाल्टो परेर मज्जाले पानी जमेको थियो | एउटा पचास लाखभन्दा बाढी मोल पर्ने गाडीमा पांच पैसाको पनि सभ्यता नभएको जन्तु चढेको रैछ | अलिकति पनि गति कम नगरी उसले त्यहाबाट गाडी कुदायो | हामीलाई सडकमा जमेको हिलो पानी छ्याप्दै | म त् पछाडी भएकोले अलिकति छिटाछाटिमा मात्र उम्किए | अगाडीतिरकाहरु त मज्जाले नै भिजे | एउटा मान्छेले गाडी गएकोतिर हेरेर रुद्रघन्टी फुलाउन्दै अघि एकैछिन अघि मैले बोल्न नसकेको शब्द चिच्यायो :
"ए माचिकने , साला रन्डीको छोरा !"
उसको त्यो उद्दारप्रति कसैले आपत्ति जन्नाएन |
मेरो खल्तीको फोन फेरी सक्रिय भयो | खल्तीबाट निकालेर हेरे | पहिलो वाला नचिनेको नम्बर रहेछ | अब म के गरु ? को हो यो ? किन मसंग किचकिच गरिरहेको होला ? कसैको कुनै जरुरी नै कुरा थियो कि ? नत्र त यसरी तारन्तार कसैले फोन गर्नु नपर्ने हो | हाम्रो हाकिम सापकै हो की ? हाम्रो हाकिम साँपले पनि नया-नया नम्बर खुब ट्राइ गरि रहनु हुन्छ | म यत्तिका बेर सम्म अफिस नपुगेकोले फोन गर्दै हो कि ? वा हाम्रो नया डिजाइनर भाईको पनि हुन सक्छ | कुनै क्लाइन्तको डिजिटल फाइल भेटेन कि ?
"हेलो !" मैले स्क्रिन टचमा हरियो आइकोनलाइ स्वाप गर्दै भने |
"हेलो निरज जी बोल्नु भयो ?" उताबाट एउटी महिलाको मधुर स्वोर सुनियो |
"हजुर ! म बोलि राछु"
"हजुर सुन्नु न तपाई कार्टूनिस्ट हो नि है?"
"हा?" बिजुली कड्केर आवाज सफा सुनी रहेको थिएन
"कार्टूनिस्ट निरज बोल्नु भएको हो नि हजुर ? "
"हो म कार्टुनिस्ट निरज नै बोल्दैछु, भन्नुस न के काम पर्यो !" मलाई फोनमा त्यति इन्त्रोडक्सन दिईरहन मन पर्दैन त्यसैले कामको कुरा सोधिहाले |
"म ....... इन्टरन्यास्नल कम्पनीबाट !"  - "गढ़यांगगुदुंग" त्यही बेला बादल कदकी हाल्यो | कुन इन्टरन्यास्नल कम्पनी भनेकी हुन् सुन्नै पाइन |
"सुन्नुस न तपैहरुलाई कुनै मान्छेको कार्टून्स बनाउनु पर्यो भने कत्ति टाइम लाग्छ ?" तपाईहरु भन्नाले कार्टूनिस्टहरुको क्यातोगोरीलाई सम्बोधन गरेकी होली, मैले त यसरि नै बुझे |
"त्यो त् टाइम लाग्छ कति टाइम लाग्छ त्यो त भन्न सक्किन्न , काम हेरेर हुन्छ"
"हाम्रो सरले एउटा होलिको कार्टून बनाउनु पर्ने भन्दै हुन्थियो | फ्लेक्समा प्रिन्तिंग गर्ने भन्नु भयो द्याट मिन्स डिजिटलनै चाहिने होला नि होइन ?, हजुरले कार्टून कसरि बनाउनु हुन्छ ?" 
उसको प्रश्न सुनेर अचम्ममा परे के सोधेकी होली ? "कार्टून कसरि बनाउनु हुन्छ" रे कसरि बनाउछु भन्नु | यो पनि सोध्ने कुरा हो र?
"मैले बुझिन तपाइको कुरा !" अबुझ तरिकाले मैले भने | म कन्फिउज पनि थिए के भनेर सम्झाउ कार्टून कसरि बनाउने भन्ने कुरा बारे |
" आई मीन कुनै सोफ्तवेरले बनाउनु हुन्छ कि...?"
कस्तो बेला फोन उठाउन पुगेछु, हत्तेरी ! एक त अफिस जान ढिला भएको, त्यसमा पानी परिरहेको अर्को यो केटीले कोई नपाएर मलाईनै फोन गरि-गरि चाटि राछ |
"पेपर र पेन्सिलले बनाउछु" रिस पचाएरै भने |
"हामीलाई डिजिटलमा चाहिने थियो, एकपल्ट म सर संग सोध्छु "
"डिजिटलमा चाहिने भए म डिजिटलमै कार्टून उपलब्ध गरिदिन्छु तपाईलाई "
"हाम्रो खास..., होलि प्रोग्राम हुँदैछ स्यातरडे होइन ! भोलि एकदिन छ सरले भर्खरै फोन गर्नु भयो इम्प्लोइजहरुको कार्टून बनाउने भनेर हामीलाई त भोलि सम्म चाहिने हो, हजुरले गर्न सक्नु हुन्छ कि हुँदैन ?"
"भोलि सम्म त सक्किन, फेरी कति जना इम्प्लोइजहरु होला तपाइको ओफिसमा सबैको बनाउदा त भोलि सम्म भ्याउदिन " मैले ठाडै इन्कार गरिदिए |
"हम्म ! हुन्छ-हुन्छ म एक पल्ट कुरा गर्छु है ल , ल " भनेर फोन काट्यो र फोन मैले खल्तीमा घुसारे | कस्ता-कस्ता मान्छेहरु छन् भने नेपालमा..., आर्टिस्टहरुलाई जादुगरनै थानछन् कि क्याहो ? "छुमन्तर जादु कलन्तर" भन्ने बित्तिकै भैहाल्ने ? कमसेकम दुई दिन पहिलै भन्नु पर्छ नि यस्तो क्रियटिभ कामहरुको त | प्रेसरमा त कामै गर्न सकिन्दैन | फेरी कहाँबाट मेरो नम्बर पाएछ ? सायद फेसबुक पेज कार्टुनिस्ट निरजबाट पाएको हुनुपर्छ | अस्ति भर्खर कल नावको बटममा मैले आफ्नो नम्बर सेट गरेको थिए | त्यहिबाट पायो होला |
पानी जसरी अचानक दर्किएको थियो, त्यसरी नै कम हुन् थाल्यो | अगाडीकाहरु बलेसीबाहिर हात तन्क्याएर पानीको गति मुल्यांकन गरे , सन्तुस्ट भएर ओतबाट निस्के अनि मोटरसाइकलको सिट पुछेर पालैपालो जान थाले |
मेरो फोन खल्तीको जिम्मामा दिएको एक मिनेट पनि भएको थिएन फेरी थर्किन थालीसकेको थियो | मैले फोन फेरी खल्तीबाट निकाले | फोन हेरे फेरी उही अर्को वाला नचिनेको नम्बर, फोन उठाए |
"हेलो "
"निरज मान सिंह जी बोल्नु भयो ?" फेरी अर्को एक सुमधुर स्वर ! यो चाहि अलि मेचोर केटी हुनुपर्छ |
"हजुर बोल्दैछु "
"म टाटा मोटरसबाट | हजुरले फेसबुकको क्याम्पेन प्रोग्राममा टाटा बोल्ट भनेर क्लिक गर्नु भएको रैछ |"
"हो गरेको थिए" मैले भने
"हजुरले कार लिने विचार गर्नु भएको छ ?"
लाग्यो गोलाप्रथामै छानियो जस्तो, फ्री मै कार पाउन लागेको जस्तो गरि "गर्नु त गरेको छु" भने
"कुन कार छान्नु भयो ?"
"उही बोल्ट, अनि बोल्टको कति पर्छ?"
तपाईलाई चिट्ठामा "टाटा बोल्ट" परेको छ भनिहाल्ला कि ठानेको त- "अहिले बाइस पच्चिस पर्छ हजुरले फेसबुकमा क्लिक गर्नु भएकोले पच्चीस पर्सेन्ट छुट पाउनु हुन्छ, तपैसंग पुरानो गाडी छ भने एक्सचेन्ज पनि हुन्छ, हजुरले अहिले कुन गाडी चलाई रहनु भएको छ ?" एकै साँसमा पो भनि त |
ल परेन फसाद ! के भन्ने अब ? कुन गाडी भन्नु ? आफु संग कार भएदिएकोभए यसरि पानीले भिजेला भनेर सटरमा ओट लाग्नेनै थिएननी, अलि ठुलै कम्पनिको गाडीको नाम लिउ बोल्ट भन्दा सुहाउदैन | मैले फ्री मा पाइहाल्छ कि भनेर पो क्लिक गरेको थिए यो त मार्केटिंग स्टेटस पो रैछ त थुइक !,  बल्ल एउटा नाम सोचेर भनि हाले " सुजुकीको छ "
"कति लटको ?"
कति लटको भानु " खोइ मलाई लटसत त्यति थाहा छैन ब्लुबुकनै हेर्नु पछ |" झर्को मान्दै मैले भने
"मोडल त थाहै होला" उताबाट झन् फोन राख्नै पापहो ठानेछन् कि क्याहो झन्-झन् इन्क्वाइरी पो गर्न थालि त |
"मोडल त् सुजुकी ऐट हन्ड्रेड "
"तपैले हाम्रो जावलाखेलको शोरूम देख्नु भएको छ ?"
देखेको छैन कसरि भन्नु !, गाडीमा इन्ट्रेस्ट हुनेहरुलाई त यस्तो कुरा थाहै हुँदो हो | जस्तो बाइक वालाहरुलाई बाइक शोरूम थाहा भए जस्तै | मैले पनि शानै दिएर भने
"देखेको छु"
" त्यसो भए एक पल्ट हाम्रो शोरूममा आउनुस, त्राइल ड्राईभ लिनुस हजुरको गाडी पनि लिएर आउनुस अनि हामि मुल्यांकन गरि दिन्छौ, हाम्रो शोरूम सनिवार पनि ओपन हुन्छ "
" हुन्छ म टाइम मिलाएर आउछु |"
" हस्त् थ्याङ्गक्यु " लामै थ्याङ्गक्यु भनेर फोन काटी टाटा बोल्टले |
मुल्यांकन त मेरो हुन्छ अफिसमा आज | हाकिमले हिजो मात्र लेट आउने सुचिमा मेरो नाम सबै भन्दा माथी राखी दिएको थियो | आज मेरो नामको मुल्यांकन कुन कोटीमा गर्ने हुन् |
फोन खल्तीमा हाले, केहि बेर अझै कुरेर म पनि आफ्नो मोटरसाइकलतिर गए | लौ खा, मेरो पुरानो गन्जीको टालो निकालेर कुनै महापुरुषले आफ्नो मोटरसाइकल पुछीसकेछ | त्यतिले नपुगेर भविष्यमा प्रयोग गर्नका लागि भनेर लिएरै गएछ |
आफ्नो शरीरको जुन भाग अडाउनका लागि उसले मेरो थोत्रो टालोसमेत बाँकी राखेन, उसको त्यहि भागमा स्याउस्याउ किरा परोस् भनेर सराप्दै म चिसो सिटमा थचक्क बसे | किकको डन्डीलाइ टालो चोरको करंग मानेर मज्जाले लात हाने | अरु बेला पांच-सातपटकमा पनि नटेर्ने थोत्रो इन्जिन मेरो आवेशसंग डराएजसरि एकैपटकमा स्टार्ट भयो | मैले एक्सिलरेटरको मुठोलाई टालोचोरको गर्दन मानेर भिजेका सडकमा कुदन थाल्यो |
चिसोले मेरो आङ् सिरिंग भयो | एकैछिन पानी पर्यो कि काठमान्डूमा जाडो भैहाल्छ | बल्लतल्ल अफिस पुगे | मलाई देख्ने बितिकै रिसेप्सनिस्तले मस्किदै भनि "पानीले कसो भ्याएनछ तपाईलाई |"
"अँ एकछिन ओत लागेर आ'को |" भन्दै म क्रियटिभ डिपार्टमेन्ट भित्र छिरे |
"गुड मोर्निंग निरज सर |" मैले भन्नु भन्दा पहिलेनै बरखी बारेको चुरोट खाँदै हाकिम सापले मलाई गिज्याउने पाराले भनि हाले |
हाकिमको "गुड मोर्निंग निरज सर" सुनेर अरु स्टाफहरु पनि आफ्नो घडी हेरेर मलाई हेर्दै कानदेखि कानसम्म हाँसे |
ओहो ! धेरै नै लेट भए छ कि क्याहो ? अघिपनि मैले घडी हेर्ने होसै भएन, आफ्नो नाडी माथि अनुहार तिर उचालेर घडी हेरे
"ओहो आफ्टरनुनपो भएछ त !" होस् नभई अन्यासै मेरो मुखबाट निस्कीहाल्यो |
"अनि निरज सरले कन्सेप्ट बनाउनु भयो त ?" हाकिम सापले बरखी बारेको चुरोट एस्ट्रेमा निभाउँदै सोधी हाले |
अब के भन्ने मैले? बडो आपाटमा पो परे म त | एक त् आधा दिनमा अफिस पुगियो, अर्को कन्सेप पनि बनेको छैन भन्यो भने ?.. मनमा वेगले हावाहुरी चल्न थाल्यो | प्रचण्ड हावा चल्यो | तर केहि फितिकै फुरेन कन्सेप्ट भन्ने जन्तु |
एकछिन कोठामा मौन भैरहयो | सबै चुपचाप, मानौ हामी सबै कसैको मरेको क्रियामा बसेका हौ | म केहि सोच्न थाले समथिङ्ग बेत्तर देन नथिङ्ग भने जस्तै कुनै एउटा हावा लाइन भनु भनेर सोच्दै थिए | बाहिर बेस्मारी बिजुली चम्कियो | एकै क्षणका लागि तिब्र प्रकाशले सारा कुरालाई नुहाइदियो अनि लगतै ठुलो स्वरमा नजिकै कतै चट्याङ्ग परेको सुनियो | मैले अडेस लागेको टेबलको छेउ नै भुइचालो आए जसरि थर्कियो | मैले यत्रो स्वरमा आकाश पड्केको पहिले सुनेको पनि थिईन | तर कोठामा सबै निस्तब्धता थियो | जे पर्ला पर्ला मैले भनि हाले
"एभरीथिङ्ग इस एबाउट तु फिल ह्वात यु हेयर !!! समथिंग बिग इस कमिंग सून"

-निरज मान सिंह 
२७ फाल्गुन, २०७३ (William.Newrose)
#Lyf_Chh_Awesome


No comments:

Post a Comment