Tuesday, May 26, 2020

प्रतिक्षा- Chapter 2 (Horror सानो कथा) Episode -4



प्रतिक्षा- Chapter 2

म उसलाई भुल्न खोज्दै थिए | तर भुल्न सकीरहेको थिईन | फ्ल्याट लिनु भन्दा पहिले थरि-थरिका कथा र कुराहरु नसुनेको पनि होइन उसको बारे | तर बिश्वास गर्न गाह्रो भयो | जब सम्म मैले आफैले अनुभव गरिन | भनिन्छ नि, सुनेको कुरा भन्दा वास्तविकता नै अदभुत हुन्छ |


म राजेन्द्र | गाउँबाट काठमाडौँ पढ्न आए | पढाई सकियो, जागिर पनि लाग्यो | मेरो पढाई गाउँमा काम लागेन | त्यसैले म काठमाडौँ मै प्राइभेट आई टि कम्पनीमा जागिर गरेर बसे | बुवा-आमालाईसंगै बस्न कति आग्रह गरे तर मान्नु भएन | एक्लो ज्यान चार बाई चारको कोठा ठिकै थियो |

अहिले म सनराइज होमसको बिल्डिंगमा बस्छु | यहाँ करिब दुई हफ्ता पहिलै सिफ्ट भएको हुँ | घरमा मेरो बिहेको कुरा चल्दै छ | बिवाह पछी, ठुलो कोठा चाहिँदो रहेछ | काठमाडौँमा घर किन्ने वा बनाउने हिम्मत भएन | त्यसैले मैले यो फ्ल्याट लिए | फुल फर्निस्ट फ्ल्याट राम्रो अनि चिटिक्क परेकोछ | मैले अरु फर्निचरहरु किनी राख्न परेन | ल्याएको आफ्नो सर समान र लुगा, फाटा कप्बोर्डमा मिलाएर राखे |

मेरो ढोकाको ठिक बाहिर एउटा ठुलो ऐना राखिएको छ | जसमा म अफिस जाँदा सधै प्रोफेस्नल देखेको छु की छैन भनेर एक छिन अगाडी उभिएर जुत्ता देखी कपालसम्म नियालेर हेर्नेगर्छु | ऐनाको अर्को खुबी भन्नै पर्दा, त्यसमा भर्याङ्गबाट ओहोर-दोहोर गर्ने मान्छेहरु मैले प्राय देख्ने गर्छु | यदि मेरो फल्याटको ढोका खुल्ला छ भने ! अहिले त म एक्लै छु र मेरो लापरवाहीका कारण प्राय ढोका खुल्ला नै रहनछ |

एकरात म टीबी हेर्दै थिए | एचबिओ च्यानलमा मेरो फेभरेट सिरियल गेम्स अफ थ्रोंस आउदै थियो | टीबी हेर्दै थिए, निन्द्रा लागेको थाहै भएन छ | हातमा रहेको जुसको गिलास काखमै पोखिएछ | "आच्छु छु" ट्राउजर भिजेर झस्किन्दै बिउझिए | टावेल लिएर बाथरूम गएर, सफा गरेर भिजेको ट्राउजर त्यहिँ फुकालेर आए | अर्को ट्राउजर फेर्न कप्बोर्डमा खोज्न थाले | लुगाहरु पन्छ्याउन्दै ट्राउजर खोज्दै थिए | कुनातीर केहि चिजमा हात ठोकियो | छामेर हेरे केहि कडा चिज भेटियो | बाहिर निकालेर हेरे, चारकुन्ने लेदरको गितार ब्याग रहेछ | ब्याग खोलेर हेर्दा, एउटा कालो गीतार र केहि म्युजिकका सामग्रीहरु थिए | सायद घरपतीको होला | आफ्नो समान लग्दा छुटेको हुन सक्छ - सोचे | त्यसैले भोली घरपतीलाई दिने भनेर बाहिरै राखे | अर्को ट्राउजर फेरेर सुत्ने तरखर गर्न तिर लागे | सुत्न जानु भन्दा पहिला, ढोका बन्द गर्न गए | ढोका बन्द गर्नै लागेको थिए, अचानक, ऐनामा आँखा गयो | मैले हेरे, एउटी केटी भर्याङ्गमा बसी रहेकी थिईन |

सेभेन्थ फ्लोरमाथी कोही यसै आएर भर्याङ्गमा बस्नु अस्वाभाविक लाग्यो | अनि यो केटीको अनुहार पनि मलाई चिनेजानेको जस्तो लागेन | अलि नियालेर हेरे तर मध्यम प्रकासमा अनुहार अलि प्रस्ट देखेन | मैले राम्रोसंग हेर्न, तुरुन्त बाहिरको बत्ति बाली बाहिर निस्के |

तर भर्याङ्गमा कोही थिएन | म तुरुन्त फ्ल्याट भित्र गए | सेकुरेटीलाई फोन गरेर सबैतिर राम्ररी चेक गर्न भने | सेकुरेटीले पुरै बिल्डिंग चेक गर्यो तर कहिँ पनि केहि देखेन | त्यसपछी म पनि सेकुरेटी गार्डसंगै बसे | तर केहि फाइदा भएन | मैले पनि पुरै बिल्डिंगमा कहिँ कोई केटी फेरी देखीन | सबैतीर चेक गरिसकेपछी म आफ्नो फ्ल्याटमा फर्किए | ढोका खोली भित्र गए | भित्र पस्ने बित्तिकै एउटा अजिब गन्ध मेरो नाकमा ठोकियो | त्यो गन्ध पुरै फ्ल्याट भरी छरिएको थियो र फ्ल्याटको सारा समानहरु उथलपुथल थियो |

“यो पक्कै त्यहि केटीको काम हुन सक्छ” मैले अडकल काटे |
मैले कुनै चिजमा हात नलगाई सबै भन्दा पहिला कप्बोर्डभित्र रहेको लकरमा डक्युमेंट्स र पैसा चेक गरे | धन्न ! सबै आ-आफ्नो ठाउमा थियो | कुनै चिज चोरी वा गायब भएको थिएन | म ढुक्क भए | फर्किनै लागेको थिए | कप्बोर्डको कुनातिर मेरो आँखा गयो | आँखा खुलेको खुल्लै भयो | बाहिर राखेको गितारको ब्याग फेरी त्यहि कुनामा थियो | अब मलाई पक्का भयो यो उतपतांङ्ग काम त्यहि केटीको हुनुपर्छ | कस्तो खाले केटी रहेछिन ! सबै समान कबोर्डबाट झिकेर गितार मात्र भित्र राखेछ | रिसले मुर्मुरिएर मैले तुरुन्त ढोकामा रहेको इन्टरकमबाट फेरी सेकुरिटी गार्डलाई फोन गरे | अनि मेरो मद्दतको निम्ती माथी आउँन भने र बाहिरै उभिएर सेकुरिटी गार्डको प्रतीक्षा गर्न थाले | केहि बेरमै सेकुरिटी गार्ड आयो | मैले सबै कुरा सुनाउँदै गार्डलाई फ्ल्याट भित्र लिएर गए | ढोकाबाट भित्र पस्ने बित्तिकै देखे, कोठाको सबै समान आ-आफ्नो ठाउमा जस्ताको त्यस्तै छ | म त छक्क परे | कसरी हुन सक्थियो ? प्रश्न वाचक चिन्ह मेरो अनुहारमा तैरियो | गार्डले मेरो मुख हेर्यो अनि मैले उसको |

गार्डले यो देखेर मुस्कुराउन्दै, “सर तपाई धेरै काम गर्नु हुन्छ | त्यसैले आँखाको भ्रम हुन सक्छ | तपाई अलि आराम गर्नुस सब ठिक हुन्छ | गुडनाईट सर” यती भनी उ गयो |

मलाई कुनै भ्रम भएको थिएन | म एकदम थाकेको पनि थिएन | तर जे देखे त्यो पनि सत्य नै थियो |
पन्द्र दिन पछी मेरो बिवाह हुने मिती तोकियो | म आफ्नो बिहेको निम्ति सहरबाट आफ्नो गाउँ जानु पर्ने भयो | मैले एक महिनाको छुट्टी अफिसबाट लिए | गाउँ गए धुमधामले बिहे गरे | बिहे गरेर एक महिना पछी म, मेरी श्रीमती निकीतालाइ लिएर काठमाडौँ फर्केर आए | दिन भरि त सबै ठिक ठाक रहयो | रातको डिनर बाहिरबाट मगाएर गरे | खाना खाईसके पछी थकानको कारण निन्द्रा कहिले लाग्यो चालै पाईन |

करिब रातको दुई बजे तिर मेरो निन्द्रा एउटा चर्को आवाजले गर्दा खुल्यो | आवाज सिसाको चुडीको थियो | लाग्यो कोई चुडी बजाउंदै मेरो नजिक बाट जाँदै छ | निकीता होलि, मैले सोचे | उठेर हेरे, निकीता कोठामा थिईनन् |
“यति राती उठेर के गर्दै छिन” सोच्दै निकीतालाई हेर्न उठे | अर्को कोठामा हेरे त्यहाँ पनि थिइनन् | सबै तिर हेरे तर कहिँ देखिन उसलाई | अनि मैले बाहिरको ढोका खोली, अगाडि देखिने ऐनामा हेरे | निकीता भर्याङ्गमा आफ्नो बिवाहको लुगा लगाएर सजी-धजी बसेकी देखे |

म ढोका बाहिर भर्याङ्गतिर दौडिए | लगतै उ भर्याङ्गबाट उठेर हिडी | म उसको पछी-पछी दौडिए | त्यहि बेला मेरो पछाडीबाट आवाज आयो “अरे ! राजेन्द्र के भयो ? कहाँ जाँदै छौ ?”
फर्केर हेरे, निकीता टावेल हातमा लिएर ढोकाको अगाडी उभिएकी थिइन् | मैले मुनी भर्याङ्गमा फर्केर हेरे त्यहाँ कोही थिएन | म बिस्तारै खुट्टा चाल्दै आफ्नो फ्ल्याटमा आए |

निकीताले हास्दै भनिन “कहाँ भाग्दै हुनुहुन्थियो? बिहे पछी यत्ति चाडै पाक्नु भयो र?”
मैले उसलाई भनु भने पनि के भन्ने? बरु, हासेरै कुरा तारे | केहि भनु, उ पनि बेक्कारमा अपसेट हुन्थीन | जसोतसो रातको निन्द्रा लाग्यो | निन्द्राको बीचमा अचानक बडो छटपटी हुन थाल्यो | निन्द्रामा मलाई निसासिएको जस्तो महसुस भयो | त्यहि बेला कसैको साँस मेरो अनुहार माथी झर्दै गरेको महसुस गरे | साँस मात्र होइन हल्का-हल्का साँस फेर्दै गरेको आवाज पनि साफ-साफ सुन्दै थिए | कोही मेरो अनुहारको धेरै नजिक थियो | धेरै भयभीत भए म, त्यस क्षेण | सोच्दै थिए, आँखा खोल्ने बित्तिकै थाहा छैन के देख्नेछु | डराई-डराई आँखा खोले तर कोही देखिन | निकीतालाई हेरे उ मस्तले सुतिरहेकी थिइन् | त्यस पछी, मैले सुत्न धेरै कोशीस गरे | तर निन्द्रा त्यो रात फेरी फर्केर आएन | सारा रात छटपटीमै बित्यो |

अर्को दिन अफिसबाट घर चाडै आए | निकीतालाइ सपिङ्ग गराएर फर्के | पछिल्लो रातको निन्द्रा मेरो आँखैमा थियो | निकीतालाई बाहिरै उतारेर आफु कार पार्क गर्न पार्किङ्गमा गए | कार पार्क गरेर लिफ्ट नजिकै पुगे | निकीता त्यहाँ मेरो प्रतिक्षा गर्दै थिइन् | हामी दुवै संगै लिफ्ट भित्र गयौ | बटन डाबे लिफ्ट बिस्तारै-बिस्तारै हाम्रो फ्लोरमा बढ्दै गयो |
निकीताले मलाई हेरी मुस्कुराउन्दै भनिन्, “तिम्रो छ नि ! बानी धेरै खराब छ यार | धेरै हैरान गर्छौ मलाई |”
मैले पनि हाँसेरै सोधे “त्यस्तो के गरे र मैले ?”
लिफ्ट सेभेंट फ्लोरमा रोक्यो | लिफ्टको ढोका खुल्यो | लगतै, म निकीता भन्दा अगाडी लिफ्टबाट बाहिरीए | निकीताले फेरी भनिन “मलाई आरामले सिढीमा बस्न किन दिंदैनौ? सधै पछी-पछी आउछौ !”
"सिढीमा ?" निकिताको यो शब्दले मेरो कदम रोकियो | पछाडी फर्के | आँखा मेरा टोलाएको टोलाई रहयो |

लिफ्टमा कोही थिएन | अगाडी हेरे घरको ढोका खुल्लै देखे | म दौडीदै निकीतालाई बोलाउंदै भित्र गए | भित्र गएर हेरे सपिङ्गको सारा समान कोठा भरि छयालब्याल थियो | अनि निकीता त्यहि बिहेको लुगामा झिंगरिङ्ग कपालपारी रुँदै बसेकी थिइन् | उनी ढोकामै एकोहोरो हेरी लगातार रुँदै थिइन् | मैले केहि बुझ्नै सकिन |

आखिर यो सब के हुँदै छ ? आफु-आफैलाई सोधे | अनी तत्काल मैले निर्णय गरे, “अब यो घर मैले छोड्नै पर्छ |” म निकीता नजिक गएर भने “निकीता के भयो तिमीलाई ? तिमी किन रुँदै छौ? कसले के गर्यो ?”
उ त्यस्तै रुंदा-रुँदै भन्यो “उ आउछ ! तिन बज्न लागीसक्यो | उ आउंदै छ होला” यति भनि उ बेहोस भई लडी |
निधारमा ज्वोरोको तापमान यस्तो बढेको थियो की हात पोल्यो | मैले उसलाई बोकेर बेडमा आरामले सुताए | एउटा रुमाललाई चिसो पानीमा चोपोलेर निकीताको निधारमा लगाएर | अनी सेक्युरिटी गार्डलाई भनेर डाक्टर बोलाउन लगाए |
हाम्रै बिल्डिंगको डाक्टर शाक्य आएर चेकअप गरेर भन्यो “वहाँलाई शक् लागेर ज्वरो आएको हो | ज्वोरो त निको हुन्छ दुई दिनमा तर शक् बाट निस्कन एकदमै जरुरि छ |”
"शक्?" म झस्किए |
"हो शक् ! त्यस्तो केहि भएको थियो र?" डाक्टर शाक्यले मेरो अनुहार हेर्दै सोध्यो |
"शक् हुने गरि त्यस्तो केहि भएको छ जस्तो त लाग्दैन डाक्टर साप | हामी त सपिङ्ग गरेर भर्खर फर्केको | निकिता पनि खुशी नै थिइन् !" मेरो अन्योल जवाफ सुनेर डाक्टर शाक्य मेरो अनुहार हेरी रहनु भयो |
"सपिङ्गबाट फर्किंदा भर्याङ्गमा केहि त्यस्तो अन्यूजुअल भएको थियो ? इ मीन केहि त्यस्तो चिज देख्नु भएको थियो |?" डाक्टर शाक्य अलि गम्भीर देखियो |
"त्यस्तो त...!" म अक्मकिए |
"वेल ! आई क्यान अन्डरस्ट्यान्ड | लेट हर रेस्ट ! मेरो सुझाव मान्नु हुन्छ भने सूर्यास्तपछी प्लिज स्टे अवे फ्रम स्टेअर्स | हुन त त्यस्तो केही भएको छैन अहिले सम्म, सुनेको कुरा मात्र हो तर प्रिकशन इज बेटर देन क्युअर | टेक केयर राजेन्द्र जी !" मेरो कुममा आफ्नो हातले दुई पटक थपथपाएर सेक्युरिटी गार्डसंगै जानु भयो |

“मुनीबाट माथी आउने बेला शक् लाग्ने गरी निकीतालाई त्यस्तो के भयो? अनि यस्तो बीहेभ किन गर्न थालिन? डाक्टर शाक्यले पनि पजलमै कुरा गरेर जानु भयो | लिफ्टमा निकीता...? फेरी कोठामा निकीता? यो सब...?” म यो सब सोचेर पागल हुँदै थिए | अनेकौ कुराहरु मस्तीस्कमा दौडी रहे तर म कुनै छोरसम्म पुग्न असमर्थ थिए | मैले सोचीसकेको थिए | म यो फ्ल्याटलाई छोडदिन्छु | तर यो सब के हो? किन यस्तो भईरहेको छ ? यो सब जान्न/बुझ्न पनी मेरो लागी आवस्यक छ |

सेकुरीटीमा एक-दुईजना पुरानो मान्छेहरु पनि थिए | सोचे बिहान उनिहरुसंग यसबारे सोधपुछ गर्छु | यस बीच मैले निकीतालाई पनि हेर्दै थिए | उ आरामले सुत्दै थिईन | म बाथरूम गए | जब बाथरूमबाट बाहिर आए | देखे निकीता कोठामा थीइनन् | म तुरुन्त बाहिर दौडिए | सोचे सायद फेरी त्यहि भर्याङ्गमै बसेकी होली | तर बाहिर गएर हेरे, भर्याङ्गमा पनि निकीता थिईनन् |

म भर्याङ्गबाटै मुनी, तिन फ्लोर सम्म गए | तर निकीता कहिँ देखिन | फर्केर माथी अरु दुई फ्लोरसम्म गए | निकीता त्यहाँ पनि थिईनन् | म के गरु ? के नगरौ? छटपटी भयो | मलाई केहि सुझी रहेको थिएन | सोचे सेकुरीटीलाई इन्फर्म गरिदिउ ! इन्टरकम गर्न भित्र कोठामा दौडिए | भित्र गएर इन्टरकमबाट सेकुरीटी गार्डलाई फोन गर्दै बाहिर पनि हेर्दै थिए | रिङ्ग गयो तर सेकुरिटी गार्डले फोन उठाउनु भन्दा पहिलै बाहिर ऐनामा निकीता बसी रहेकी देखे | मैले फोन राख्नु भन्दा पहिलै, फोनमा एउटी केटीको आवाज आयो, “मलाई आनन्दले बस्न देउ, बाहिर नआउनु प्लिज |” म झस्किए | मलाई केहि सुझेन निकीताको चिन्ताले म पागल हुँदै थिए | फोन रिसिभर त्यतिकै फालेर निकीतालाई लिन दौडिए | देखे निकीता भर्याङ्गमा बसेर कहिले रुँदै थिइन् "हुहुहु..हह.!" त कहिले हास्दै | "हीहीहीssss...हाहाहा !!"

“निकीता ! के भयो ? जाउ ! भित्र जाउ यार, अबेर भइसक्यो | तिमीलाई डाक्टरले आराम गर्न भनेको छ | जाऔ भित्र गएर पल्ट |” निकीताको नजिक हुँदै भने | तर निकीता ! निकीता नभएर अर्कै भइसकेकी थिईन | अनि गर्जेर अर्कै स्वरमा भनिन् “म जाँदिन यहाँबाट | उसले भनेको थियो | यहिँ मेरो प्रतिक्षा गर्नु | उ आउने छ, तिन पनि बज्नै लाग्यो | म यहिँ बसेर उसको प्रतिक्षा गरिरहने छु |”

म यो सुनेर डरले कापिसकेको थिए | जीउ सिस्सिएर आयो | आफ्नो मुटुको धड्कन मैले आफैले सुन्न सक्ने गरि जोर-जोरले धड्कीन थाल्यो | मैले निकीताको यस्तो रुप न कहिलै देखेको थिए | नत उसको यस्तो स्वर कहिलै सुनेको थिए | यो स्वर निकीताको हुँदै होइन मलाई पक्का थियो | म त्यसै ठिङ्ग उभी रहे | मनमनै “हनुमान चालिसा” पाठ गरे | अलि साहास आए जस्तो अनुभिती भयो | केहि छिन पछी लामो साँस ताने, मन दह्रो पारी अनि आफुलाई सम्भाल्दै चिच्याएर कराएर “निकीता अब भयो | धेरै भयो | चुप लाग अब ! चुपचाप उठेर भित्र हिड | नत्र म यहाँबाट जान्छु ! तिमीलाई यहिँ छोडेर सधै-सधैका निम्ती |”

मैले यती भन्ने बित्तिकै... थाहा छैन के भयो? निकीता रुँदै म तिर फर्केर भनिन् “नाई ! हुँदैन, तिमी यसलाई छोडेर नजानु नत्र यसको पनि यहिँ हाल हुन्छ मेरो जस्तो | म जाँदैछु यहाँबाट | अब यहाँअरु कोही मर्ने छैन,....कोइ पनि मर्ने छैन |”

त्यस पछी निकीता नराम्रोसंग चिच्याईन “आआssssssssss” अनि बेहोस भईन | निकीताको चिच्याहात सुनेर अरु फ्ल्याटका मान्छेहरु आ-आफ्नो फ्ल्याटबाट निस्किएर ढोका-ढोकामा उभिएर हेर्न थाले | तर कसैले केही सोधेन र मदत पनि गरेन | टोलाई मात्र रहयो | मैले निकीतालाई बोकेर भित्र फ्ल्याटमा लिएर गए | कोठामा लगेर बेडमा सुताए | एकछिन पछी सेकुरिटी गार्डसंगै डाक्टर शाक्य आउनु भयो | सेकुरिटी गार्डले के भएको हो कुरा बुझ्न खोज्दै थियो तर मैले वास्तविक भनिन् |
डाक्टर शाक्यले निकीताको नाडी र निधार छामी सकेपछी, "अहिले ज्वरो अलि कम भएको छ | डोन्ट वरी सी विल बि फाइन |" भन्नुभयो | अनि अलि आफ्नो निधार खुम्च्याउन्दै फेरी, "स्टेअर्समा केही अन्यूजुअल?" सोध्नु भयो |
"यस डाक्टर " मैले टाउको हलाउन्दै भने |
"वेल राजेन्द्र जी ! हाम्रो प्रोफेसनमा, यस्तो कुराको बिलिभ त गर्दैनौ | तर साइन्सले प्रमाणित गर्न नसकेता पनि कुनै-कुनै एनर्जी वा भनौ फोर्स, साइन्स भन्दा माथी नै हुन्छ | जसलाई देख्न त सक्दैनौ तर आफ्नो अस्तित्वको प्रमाण दिईरहन्छ | जसलाई अनुभव गरेर मात्र बिलिभ हुन्छ |" यति भनि मेरो कुममा आफ्नो हातले दुई पटक थपथपाएर डाक्टर शाक्य ढोकासम्म जानु भयो | अनी सेक्युरिटी गार्डसंगै उभिएर, "सो, टेक केयर राजेन्द्र जी एण्ड गुडनाईट" भन्नु भयो |
“गुडनाइट डाक्टर साप एण्ड थ्यांकयु" मैले डाक्टर शाक्यलाई हेर्दै भने |
 “गुडनाइट सर” सेकुरिटी गार्डले पनि भन्यो |
“गुडनाइट गार्ड दाई"
अनि दुवै फर्केर हिडे | ढोका नजिक गएर हेरे, भर्याङ्गको ऐनामा देखियो, दुवै भर्याङ्गबाट मुनी झर्दै थिए | मैले ढोका लगाए |

बिहानसम्म निकीताको ज्वरो पनि निको भइसकेको थियो | तर कमजोरी जाँदा-जाँदै धेरै समय लाग्यो | दिन बित्यो, हफ्ता बित्यो | त्यस रातको घटनापछी मैले भर्याङ्गमा वा ऐनामा कहिलै कोही बसेको देखेन |

निकीता ठिक भइसकेपछी; उसले मलाइ भनिन | त्यो रात उ लिफ्टमा चढेर फ्ल्याटमा आउंदै थिइन् | फ्ल्याट अगाडी उसले भर्याङ्गमा बिहेको सारीमा सजिएकी एउटी केटीलाई देखिन | “को हो यो बेहुली?, किन यहाँ बसेकी होली?” यहि सोची, निकीता उनीसंग सोध्न नजिक गईन | त्यो केटीले एक्कासी पागल झैँ वर्ताब गर्न थालिन | अनि निकीता माथी बागले झैँ झम्तिईन | निकीता हात खुट्टा चलाउँदै थिइन् | तर सबै हावामै थियो | निकीता त्यो केटीलाई छुन पनि सकेकी थीइनन् | जसोतसो, निकीता उठेर फल्याटभित्र भाग्दा ऐनामा आफ्नो प्रतिविम्बमा उसले आफुलाई नभई त्यो केटीलाई देखिन | त्यसपछीको घटना उसलाई केहि याद थिएन |

मैले यसबारे पुरानो सेकुरिटी गार्डलाई भेटेर सोधे तर केहि थाहा छैन भनेर कुरा गर्न मानेन | त्यसपछी मैले घरपतिलाई नै सोध्दा ठिक सम्झेर वहाको घर गए | घरपतिलाई सोधेर थाहा भयो |

हामी भन्दा पहिले यहाँ सुप्रिया नाम गरेकी एउटी केटि बस्थिईन | उसले आफ्नै कलेजको केटा बिकासलाई धेरै माया गर्थिन् | दुवै एक अर्काबिना बाच्न नसक्ने स्थिती थियो | बिकासको रुची संगीतमा धेरै थियो | घरबाट बिकासलाई कहिलै संगीतमा सपोर्ट थिएन तर सुप्रियाले सधै बिकासलाई सपोर्ट गर्थीन | उसको हरेक कन्सर्टमा साथ जान्थीइन र म्युजिक कम्पोज गर्दा मद्दत पनि गर्थिन | कम्पोजमा कहाँ निर के छुट्यो उसले तत्काल बताउथीन | एक पटक यस्तै सच्याउने क्रममा बिकासले गितार बजाउंदै सुप्रियाको आँखामा हेर्दै, “तिमी नभए जिन्दगानी काँडा सरीछ” गायरै भन्यो |
“ल-ल धेरै अर्काको गित गायर मलाई इम्प्रेस पार्न नखोज, से समथिंग न्यु” सुप्रियाले बिकासको गाला मुसार्दै उठिन |
बिकासले सुप्रियाको हात समातेर केहि बेर सोच्दै “हरेक रात तिमीलाई नै सम्झिन्छु,
तिम्रो माया बिना पागल भई जान्छु” मुस्कुराउन्दै भन्यो | आफ्नो लाईन कस्तो छ ? भनेर सोचेको जस्तो गरि आफ्नो आँखी भौ उचाली इसारा गर्यो |
सुप्रियाले पनि बिकासको आँखामा हेर्दै, “यो लाईन इनकम्प्लिट छ अर्को लाईन सायद यस्तो हुनु पर्छ | अम्म !” भन्दै केहि छिन सोचिन | अनि बिकासकै नजिक गएर मुस्कुराउन्दै,
“हरेक रात तिमीलाई नै सम्झिन्छु,
तिम्रो माया बिना पागल भई जान्छु
कल्पनाको संसारमा तिमीलाई नै खोजी हिडे
यो अन्जान सहरमा तिमीलाई नै सम्झी हिडे” थपिन | यस पाली सुप्रियाले आफ्नो आँखीभौ उचालीन | बिकासले आफ्नो दाँया हातको चोर औला र बूढी औला जोडेर राम्रोको सङ्केत दियो | अनि कोठाभरी दुवैको हाँसो गुन्जियो | झ्यालमा अडेस लागेर बसेका एक जोडी परेवा आफ्नो पंख फैलाउन्दै आकाशमा कतै बिलिन भयो | दुवैको हाँसो अझै थामेको थिएन |

म्युजिक इन्त्रुमेंट आफ्नो घर लिएर जान नमिल्दा सुप्रियाकै घरमा छोडेर जान्थियो | त्यो इन्त्रुमेंटहरु बडो जतनका साथ सम्भालेर राख्थिईन सुप्रियाले |

समय बित्यो, कलेज सकेर दुईजनाले बिहे गर्ने निधो गरे | तर बिकासको घरमा मानेन | कारण, बिकास धेरै घनी परिवारको एकलो छोरा थियो र सुप्रिया मिडल क्लास परिवारकी छोरी | तर सबैको अगेन्सटमा गएर दुवैले कोट म्यारिज गर्ने विचार गर्यो | कोट म्यारिजको डेट फिक्स् भयो अनि समय पनि, तिन बजे सुप्रियालाई बिकासले पिकअप गरेर चार बजे रेजिस्टार अफिस पुग्ने |

बिहेको सपिङ्ग पनि गरे दुवै जनाले | खुशी देखिन्थीइन सुप्रिया त्यस दिन, यति खुशी सायद सुप्रिया आफ्नो जिन्दगीमा कहिलै भएकी थीइनन् | कोट म्यारिज गर्ने दिन पनि आयो | सुप्रिया सजिधजी बिकासको प्रतिक्षा गर्दै थिइन् |
तर, त्यो दिन बिकासले अरु ठाउमा अर्कै केटिसंग बिहे गर्यो | केटी पनि धनीघरकी युयसको एन.आर.एन थिइन् | बिहे पछी दुवै अमेरिकामै सेटल हुने रहेछ |

सुप्रिया यहि भर्याङ्गमा बिहेको सारी लगाएर सिंगारपतारगरि बिकासको व्यग्रताका साथ प्रतिक्षा गर्दै बसिन | तिन बज्यो, चार बज्यो, पाँच बज्यो तर बिकास आएन | अनि उसकी एउटी साथी आएर बिकासले अर्कै केटीसंग बिहे गरेको खबर सुनाईन | सुप्रिया शक् मा परिन केहि नबोलि टोलाएर भर्याङ्गबाट झर्दा-झर्दै उसको खुट्टा चिप्लियो | चिप्लिएर लड्दा यहि भर्याङ्गमा टाउको ठोकिएर उसको मृत्यु भयो | उनिहरुको बिहे हुन सकेन | सुप्रियाको जिन्दगीको घडीमा त्यो “तिन” कहिलै बजेन | कहिलै |

यथार्थ हो ! मायाको पनि उचित मूल्य लगाउने व्यक्ति चाहिएको छ जिन्दगीको बजारमा | मूल्य सहि त प्रेम आफ्नो नत्र अरु कसैको |
समाप्त

-विलियम न्युरोज 
© २०७७ बि.सं.

No comments:

Post a Comment